समाचार

मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

काठमाडौं। मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको छ ।

गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो।

दूतावासले ३० जुलाईको राति भिडियो दूतावासमा आउना साथ त्यहाँको सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीको छाता सङ्गठन पीआईकेएमलाई अनुरोध गरी सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो ।

उक्त घटनामा कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ हुन्। उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेका दूतावासद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मलेसियाको अध्यागमन कानुन अनुसार दुवै अवैधानिक भएर बसेको दूतावासले जनाएको छ ।

राम गोपाल आज आफैं प्रहरी समक्ष उपस्थित भएको र क्वालालम्पुरको वाङसाषतजुमा रहेको प्रहरीचौकीले यसबारे थप अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।