फिचर

विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो

काठमाडौं । संसारका ४० प्रतिशत गन्तब्यले विदेशी पर्यटकमाथिको प्रतिवन्ध खुला गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीको फैलावटका बीच कुनै समय शतप्रतिशत मुलुकले विदेशी नागरिकको आवागमना प्रतिवन्ध लगाएका थिए । अहिले विभिन्न ४ मुलुकले बीना शर्त र अन्य मुलुकले शर्तसहित विदेशी नागरिकको आवागमन खुला गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ)को विवरणअनुसार जुलाई ३० सम्म संसारभर ४० प्रतिशत मुलुकमा विदेशी नागरिक प्रवेशमा तोकिएका कडा प्रावधान खुकुलो बनाइएको छ । यसअघि १५ जुनसम्म मात्र २२ प्रतिशत मुलुकले ात्र यात्रा प्रतिवन्ध खुकुलो पारेका थिए । अहिले खासगरी यूरोपका सबैजसो मुलुकमा विदेशी नागरिक घुमघामा जान सक्छन् । त्यसका लागि यूरोपमा केही प्रावधान भने बनाइएका छन् ।

जुलाइ अन्त्यसम्म ८७ मुलुकले कुनै न कुनै रुपमा विदेशी नागरिकलाई यात्रा अनुमति दिने गरी निर्णय गरेका हुन् । अल्वानिया, माल्दिभ्स, सर्विया र तान्जानियाले भने कुनै शर्त बीना नै यात्रा खुला गरेका छन् । संगठनका अनुसार पर्यटनमा आधारित अर्थतन्त्र रहेको मुलुकमा अब यात्रा माथिको प्रतिवन्ध खुला भएको छ । किनकी सार्वजनिक स्वास्थ्यलाई ख्याल गर्दै अन्य गतिविधि समेत संगै लैजानु पर्ने बाध्यतामा संसारभरका मुलुक रहेका छन् ।

११५ मुलुकमा भने अहिले पनि विदेशीको प्रवेशमा कडा प्रतिवन्ध रहेको छ । यसमा नेपाल पनि एक हो । नेपालले १ भदौबाट मात्र विदेशी पर्यटकलाई नेपाल प्रवेश दिने सम्भावना छ । यद्दपी त्यसको मोडालिटी सार्वजनिक भएको छैन ।