समाचार

मेलम्ची पहिरोमा पुरिएका ८ जनाकै निधन, सबैको सनाखत

मेलम्ची । मेलम्चीमा पहिरोमा पुरिएका सबै ८ जनाकै निधन भएको छ । सिन्धुपाल्लोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा कभर्ड हल निर्माणमा खटिएका मजदुर सुतेको अवस्थामा पहिरोमा परेका थिए । उनीहरुलाई माथिबाट आएको पहिरोले पुरेको हो । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ ।

ज्यान गुमाउनेमा बाराको सिमराका राजेश चौधरी, विक्रम थिङ, मानबहादुर रुम्बा, सिमन घलान, शिव बालक र सोनम लामा रहेका छन् । उता, वीरगञ्जका प्रदीप चौरासिया र भारतका राजेन्द्र चौरासियाको पनि ज्यान गएको छ । पहिरोमा परी एक जना घाइते भएका छन् । भारतका बारु शाहलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

उता, सोमबार नै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवामा पहिरोले घर पुरिँदा क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको ज्यान गएको छ । सिन्धुपाल्चोकमा यसअघि असारमा गएको पहिरोमा परी २० जना अझै वेपत्ता छन् ।