मनोरञ्जन

आज गाइजात्रा, उपत्यकामा बिदा

काठमाडौं । आज नेपालका विभिन्न स्थाना गाइजत्रा पर्व मनाइदै छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व आजबाट शुरु हुन लागेको हो । सोही अवसरमा हरेक वर्ष उपत्यकामा भने सार्वजनिक बिदा दिइन्छ । यो पर्वका दिन प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत गाउने प्रचलन रहेको छ ।

गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा मनाइन्छ । कोरोना भाइरसको महामारीका बीच यो वर्ष विगतमा जस्तै गरी समुहमा चाडबाड नमनाउन सरकारले आह्वान गरेको छ ।

गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराइन्छ । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गर्छन् । नगरपरिक्र गर्दा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने मान्यता रहेको छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको मानिन्छ ।