समाचार

विश्व सम्पदाको खतराको सूचिमा पर्दैछ काठमाडौं ?

काठमाडौं । काठमाडौं उपत्यका भित्रका विश्व सम्पदाहरुलाई यूनेस्कोले खतराको सूचिमा राख्ने प्रस्ताव गरेको छ । युनेस्कोअन्तर्गत, वल्र्ड हेरिटेज कमिटिको ४३ औं सेसन आगामी साताबाट अजरबैजानको बाकुमा शुरु हुँदैछ ।

उक्त सेसनमा लैजाने एजेण्डामध्ये एक एजेण्डा नेपालको काठमाडौंलाई खतराको सूचिमा राख्नु पनि हो । किनकी यूनेस्कोले नेपाललाई लामो समयदेखि सम्पदा संरक्षणमा गम्भीर बन्न चेतावनी दिइरहेको थियो ।

खासगरी पुनर्निर्माणमा देखिएको ढिलाईका कारण अहिले सम्पदाहरु अस्तव्यस्त अवस्थामा रहेका छन् । संम्पदा संरक्षणमा सरकारले देखाएको ढिलासुस्तीका कारण विश्व सम्पदा सूचिहरु खतराको सूचिमा पर्ने सम्भावना बढेको हो ।

नेपालबाट पर्यटन सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा जाने प्रतिनिधिमण्डले बाँकि विश्वलाई कसरी विश्वास दिलाउन सक्छ, त्यसमा नेपालका सम्पदाको भविश्य निर्भर हुनेछ ।

विश्व सम्पदा सूचिमा पर्नु कुनै पनि सम्पदाको गौरवको विषय हो । किनकी सूचिमा पर्नासाथ ती सम्पदाको विश्वव्यापी चर्चा हुन्छ भने यसको विकास, प्रवद्र्धन र संरक्षणमा यूनोस्कोले पनि सहयोग गर्छ ।

काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्ध, स्वयम्भू, बसन्तपुर, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा रहेका छन् ।

कमितिको ४३ औं सेसन आगामी ३० जुनदेखि १० जुलाईसम्म चल्नेछ । यही बैठकले नेपालका सम्पदाको भविश्य निर्धारण गर्नेछ ।

नेपालमा काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचिमा रहेका छन् ।