स्वास्थ्य

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६४ पुग्यो कुल मानवीय क्षति

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सप्तरीमा मृत्यु भएका तीन जनामा कोरोना आंशका गरिएको थियो । त्यसमध्ये एक जनामा कोरोना पुष्टि भएको छ । दुई जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । सप्तरीको रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका थिए ।

होम क्वारेन्टिनमै बसेका उनलाई मंगलबार साँझ अधिक ज्वरो आएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । त्यसपछि थप उपचार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । सो क्रममा उनको बाटोमै मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

उता, सप्तरीकै डाक्नेश्वरी नगरपालिका ९ का ७४ बर्षीय र राजगढ गाउँपालिकाका ७१ बर्षीय बृद्धमा भने कोरोना नेगेटिभ आएको हो । अब कोरोना संक्रमणबाट सप्तरीमा मृत्यु हुनेको संख्या २ पुगेको छ । देशभर मृत्यु हुनेको संख्या ६४ पुगेको छ । यसअघि बुधबार मात्र ५ जनाको कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गएको थियो ।