फिचर

गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

काठमाडौं । सरकारले तत्काल विदेशी नागरिक र गैरआवासीय नेपालीलाई समेत अनअराइभल भिसा नदिने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा यस्तो सहमति भएको हो । बढ्दो कोरोना संक्रमणका बीच सरकारले १ भदौबाट व्यवसायिक हवाई उडान सुरु गर्ने निर्णय गरेको छ ।

त्यसपछि नेपाल आउन चाहने नेपालीले स्वास्थ्य प्रोटोकल पुरा गरेपछि नेपाल आउन सक्छन् । तर, विदेशी नागरिक र गैरआवासीय नेपालीले भने नेपाली दूतावासमै पुगेर भिसा लिनुपर्छ । यद्दपी भिसा कसरी दिने, के के मापदण्ड पुरा गर्ने भन्ने सम्बन्धमा भने नेपाल सरकार अझै निष्कर्षमा पुग्न सकेको छैन ।

बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा अनअराइभल भिसा भने नदिने सहमति जुटेको बताइएको छ । अब स्वास्थ्य मन्त्रालयले विदेशी तथा स्वदेशी नागरिकलाई कसरी आउने दिने र कति दिन क्वारेन्टिनमा राख्ने भन्ने सम्बन्धमा सुझाव दिनेछ । सोही सुझावका आधारमा पर्यटन र परराष्ट्र मन्त्रालयले थप निर्णय लिनेछन् ।

सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई उडान संचालनको निर्णय गरेको थियो । तर, पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमणका कारण उडान अन्यौलमा परेको हो ।