विश्व

लेबनानमा रहेका नेपाली सुरक्षित

काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको भयानक विष्फोटमा कुनै पनि नेपाली नागरिक नपरेको सरकारले स्पष्ट पारेको छ । बेरुतस्थित एक विष्फोटक पदार्थ भण्डारण गृहमा भएको विस्फोटमा १३५ जनाको ज्यान गइसकेको छ । ४ हजारभन्दा बढी घाइते छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाली नागरिक प्रभावित भएको सम्बन्धमा कुनै पनि जानकारी आएको छैन ।

बेरुतस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघबाट समेत नेपाली नागरिक प्रभावित भएको सबन्धमा कुनै जानकारी नआएको मन्त्रालयको भनाई छ । लेबनानलाई कायरोस्थित नेपाली राजदूतावासले हेर्ने गर्छ । घटनाबारे नेपालले भने दुख व्यक्त गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले एक समवेदन सन्देश पठाउँदै घटनाबाट नेपालको तर्फबाट दुख व्यक्त गरेकी छिन् ।

उनले मृतकको चीर शान्ती र परिवारमा समवेदन प्रकट गरेकी छिन् । घाइतको सिघ्र स्वास्थ्य लाभको कामना समेत राष्ट्रपतिले गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समेत विस्फोटबाट भएको धनजनको क्षतिले मर्माहत बनाएको बताएका छन् । उनले मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् । यो मुलुकमा करीव १२ हजारको संख्यामा नेपाली नागरिक रहेको अनुमान छ ।