समाचार

न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु

न्युयोर्क

न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले कोरोना संक्रमणको त्रासले न्युयोर्क सहर छाडेका धनाढ्यहरुलाई सहरको अर्थतन्त्रमा टेवा पुर्याउनको लागि पुन: फर्किएर आउन आह्वान गरेका छन् । न्युयोर्क सहरमा महामारी चरम उत्कर्षमा पुग्दा महँगो मुल्य तिरेर म्यानह्याटनका अपार्टमेण्टमा बसोबास गर्दै आएका धनाढ्यहरु ह्याम्टन, अपस्टेट, कनेक्टिकटमा रहेको भेकेसन होममा सरेका थिए भने अन्य मानिस भने सहर भन्दा केही परतिर नयाँ ठाउँमा घर भाडामा लिएर सरेका थिए । हाल न्युयोर्कमा हजारौं हजार अपार्टमेण्ट खाली भएका छन् ।
कोरोना महामारी सुरु भएको झन्डै ६ महिना बिति सकेको छ तर यो महामारी कम हुने कुनै लक्षण देखिएको छैन । भ्याक्सिन आउन अझै केही महिना कुर्नै पर्ने देखिएको छ । यसै हप्ताको सुरुमा आयोजित एक पत्रकार सम्मेलनमा गभर्नर कुमोले धनाढ्यहरुलाई न्युयोर्क फर्काउने बिषयमा भनें “जो न्युयोर्कबासी हाल ह्याम्टनको घरमा गएर बसेका छन्, हड्सन भ्यालीमा बसेका छन्, कनेक्टिकटको भेकेसन होममा बसेका छन् ।म प्राय: दिनभर उनिहरुसँग कुरा गरिरहेको हुन्छु र भन्छु ‘तिमिहरु फर्किनु पर्छ । कहिले फर्किने हो ?’ भनेर सोध्छु । मैले भनेको छु; “तिमीहरु फर्किएपछि हामी डिनर खान जाऔंला । म तिमीहरुले खाएको पेय ( ड्रिन्क्स) को पैसा तिर्छु । म तिमीहरुलाई खाना बनाएर खुवाउँछु”।
कोरोना संक्रमणको भयावय दृष्यपछि ठुलो संख्यामा न्युयोर्क सहरबासीले न्युयोर्क छाडे पनि हाल न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार आएको छ ।