समाचार

चार दशक देखि अमेरिकी चुनावको भविश्यवाणी मिलाउँदै आएका प्राध्यापकको उद्घोष- यसपाली ट्रम्पको हार

न्यूयोर्क

चार दशक देखि अमेरिकी राष्ट्रपतिय चुनावको भविश्यवाणी मिलाउँदै आएका एक प्राध्यापकले यसपाली राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित हुने प्रक्षेपण गरेका छन् । अमेरिकन युनिभर्सिटीका इतिहास प्राध्यापक एल्लान लिचम्यानले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले दोस्रो कार्यकाल शासन गर्न नपाउने उद्घोष गरेका हुन् ।

लिचम्यान चार बर्ष अघि ट्रम्प राष्ट्रपति निर्वाचित हुने भविश्यबाणी गर्ने सिमित बिश्लेषकहरुमध्ये थिए । निर्वाचित भएपछि ट्रम्पले लिचम्यानलाई बधाईपत्र नै पठाएका थिए । २०१६ मा मात्र होइन सन् १९८४ यता उनले हरेक राष्ट्रपतिय चुनावको भविश्यबाणी मिलाउँदै आएका छन् ।

उनले राष्ट्रपतिय निर्वाचनको भविश्यबाणीका लागि १३ बुँदा तय गरेका छन् । ती बुँदाको आधारमा तुलना गर्दा दुई प्रतिश्पर्धीमध्ये जसको पल्लाभारी हुन्छ उसैले चुनाव जित्ने उनको राय रहने गरेको छ । यसपाली अल्प एवं दीर्घकालिन अर्थतन्त्र लगायत अधिकांश मापदण्ड ट्रम्पको विपक्षमा रहेको कारण उनले चुनाव जित्न नसक्ने लिमच्यानको राय रहेको छ । १३ मापदण्डमध्ये सात बाइडेनको पक्षमा देखिएको हो । त्यसमा सन् २०१८ को मध्यावधि निर्वाचनमा डेमोक्र्याटले सफलता पाएको लगायत छन् ।

प्राध्यापक लिचम्यान, तस्वीरः न्यूयोर्क टाइम्स

उनी बिभिन्न मत सर्वेक्षण एवं राजनीतिक पण्डितहरुले गर्ने भविश्यबाणी माथि विश्वास गर्दैनन् । सोही कारण उनी चार बर्ष अघि ट्रम्प राष्ट्रपति हुने दावीमा अविचलित देखिएका थिए । त्यतिमात्र होइन ट्रम्पले चुनाव जितेपछि महाभियोग सामना गर्नुपर्ने पनि उनको प्रक्षेपण थियो । त्यो पनि सत्य सावित भएको छ ।

चार बर्ष अघि आम मत सर्वेक्षणहरुको विपरित राय दिएका कारण चुनाव अघि लिचम्यानलाई भविश्यबाणी माथि प्रश्न उठाउने धेरै थिए । यसपाली मतको प्रक्षेपण मत सर्भेक्षणहरुसँग एउटै दिशामा देखिएको कारण विवाद भएको छैन ।