स्वास्थ्य

२४ घण्टामा कोरोनाबाट नेपालमा ३ जनाको ज्यान गयो, मृत्यु हुने संख्या ७३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या तीन पुगेको छ । शनिबार थपिएका तीनसँगै अब देशभर मानवीय क्षति ७३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिलाको यस अवधिमा ज्यान गएको हो ।

शुक्रबार एकैदिन पाँच जनाको मृत्यु भएको थियो । पछिल्ला दिनमा समुदायस्तरमा फैलिएको कोरोनाले मानवीय क्षति समेत उत्तिकै बढाएको छ । शुक्रबार भने पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष, सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको थियो । बिहीबारसमेत नेपालमा ५ जनाको ज्यान गएको थियो ।