स्वास्थ्य

अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा

यात्रा संस्मरण: अर्जुन मैनाली 

यात्रा उद्देश्यात्मक भयो भने थप मज्जा आउँदो रहेछ । जिबनमा धेरै घुमियो, कहिले आफ्नो लागि कहिले अरुका लागि । यस पटक मानवताका लागि घुमें ।

रगत दिएर बिमारी बचाउनु एक सामान्य चिकित्सा उपचार हो । यद्यपी धेरै बिरामीले समयमा रगत नपाएर जीवन गुमाउनु परेका छन् । केहीलाई भए पनि आफ्नै रगत दिई बचाउँ, केहीलाई रक्तदान गर्न हौसला प्रदान गरुँ, केहीलाई उत्प्रेरणा जगाऊँ भन्ने भावनाले समय समयमा अफ्रिकाको मलावी, युगाण्डा, इथियोपिया जस्ता देशमा गएर रक्तदान गर्ने गरेको छु ।

अफ्रिकामा अझबढी सेवा गर्नका हेतु अफ्रिका सोसाइटी ब्लड ट्रान्सफ्युजनको सदस्यता लिएको छु । यस संस्थामार्फत वर्ल्ड ब्लड डोनर्स डे २०१९ रुवान्डामा जुन १४ मा मनाउन लागेको थाहा पाएँ । तुरुन्तै रुवाण्डा बायोमेडिकल सेन्टरका पब्लिक हेल्थ डाइरेक्टर जनरल एसोसिएट प्रोफेसर डा. जेनिन कोन्डोसँग संपर्क गरें । उनले ईमेलमा लेखे; ‘यस बर्ष विश्व स्वास्थ्य संगठनले मनाउन लागेको वर्ल्ड ब्लड डोनर्स डे २०१९ हामीले होष्ट गर्दैछौं । जुन १३ – १४ मा हुने कार्यक्रममा तपाईंले स्वेच्छिक रक्तदान “सबैको लागि सुरक्षित रगत” गर्नको लागि बोलिदिनु पर्यो।’ मैले तुरुन्तै; ‘हुन्छ, म आउछु’ भनें । मेरो लागि सुवर्ण अवसर पनि थियो । आन्तरिक द्वन्दबाट गुज्रिएर द्रुत आर्थिक बिकासमा लम्कारहेको देशमा काम गर्ने वातावरण हुँदोरहेछ । परिवर्तन महत्व बुझेका छन् । 

न्यूयोर्कबाट रुवान्डा जान सिधा हवाइ सेवा भएको भए करिव १० घण्टामा पुग्थें । सो नभएकाले जहाजले रुवान्डा भन्दा पनि टाढा कतार लग्यो । अर्को जहाजले रुवान्डाको राजधानी किगाली पुर्याउँदा २२ घण्टा लाग्यो । थकित थिएँ । त्यहाँका युवाहरुमा रक्तदान गर्न हौसला बढाउन उनिहरुका सामुन्ने थकाईको वास्ता नगर्दै ब्लड बैंकमा गएर रक्तदान गरें । त्यहाँ उपस्थित करिव एक दर्जन युवाहरुका अनुसार अफ्रिकामा रगत नै नपाएर धेरै बिरामीहरुले जीवन गुमाउनु परिरहेको घटनाले मन छोयो । त्यसैले, “मेरो आफ्नै रगतले एक जना बिरामीलाई मात्र भएपनि बचाउन र उपस्थित युवाहरुमा कम्तिमा बर्षको एक पटक भएपनि रक्तदान गर्न उत्प्रेरणा गरौं भन्ने उद्देश्यले पटक पटक अफ्रिका आउनु परेको हो” भनें ।

भोलिपल्टको वर्ल्ड ब्लड डोनर्स डेको एकेडेमी सत्रमा प्रमुख अतिथी रुवान्डाका स्वास्थ्य राज्यमन्त्री र १५ देशका ५२ जना सहभागीहरुलाई सम्बोधन गर्दै आफुले रक्तदान र रक्तदान उत्प्रेरणा गरेका बिभिन्न कार्यहरु र स्वेच्छिक रक्तदान “सबैको लागि सुरक्षित रगत” गर्नको लागि एक उपाय; बिषयमा १८ वटा पावर प्वाइन्ट स्लाईड प्रस्तुत गरें । भने; “मैले ३२ बर्ष यता १७१ पटक रक्तदान गरि सकेछु । मैले दान गरेको रगत करिव ८५ हजार मिलिलिटर परिमाण हुन्छ । मेरै रगतले मात्रै करिव ५१३ जना बिमारी बचाउन सहयोग पुगेको छ ।रक्तदान गरौं भन्ने लाखौंमा सन्देश पुर्याएँ, सयौ कार्यक्रम राखें, हजारौं पोका रगत सञ्कलन गर्न सघाएँ” । मेरो अनुभव सुनिसकेपछि दिवा भोजको समयमा धेरैले मेरो कामको तारिफ गरे । मेरो हौसला अझ बुलन्द भएको महसुस गरें ।

पर्सीपल्ट रुवाण्डाका करिव २५० जना रक्तदाताहरु पनि थपिए । सोही अवसरमा आयोजक, केही अतिथी र मैले ढोकासम्म पुगेर प्रमुख अतिथी मन्त्रीलाई स्वागत गर्दै रक्तदान कार्यक्रम चलिरहेको ठाउँमा लग्यौं । मन्त्रीले कार्यक्रम बढो रुचीका साथ अवलोकन गरिरहेका थिए । मैले मन्त्रिलाई ‘हजुर पनि रक्तदान गर्नु हुन्छ कि ?’ सोधें । समय धेरै लाग्ने हो कि ? भन्दै मन्त्रीले पनि रक्तदान गरे । मन्त्रीले रक्तदान गर्ने अवस्था सिर्जना गर्दिदा युवाहरुमा रक्तदान गर्न सन्देश गयो, भन्ने मलाई लाग्यो ।

अपरान्हतिर आयोजकले मलाई टेष्टिमोनि स्पिचको लागि मन्चमा बोलाए । जुन मेरो लागि महत्वपूर्ण अवसर थियो । मैले बोल्न राखेको टिपोट हराएछु, बोल्ने क्रममा उत्प्रेरणा गर्न महत्व राख्ने कतिपय मुख्य बुँदाहरु नै छुटे । केहीबेर खिन्न लाग्यो । कार्यक्रमको अन्त्यमा मन्त्रीले म लगायत देश बिदेशका १५ जनालाई सम्मान गरे । मेरो सम्मान पत्रमा ‘बिरामीहरुको जीवन बचाउन तपाईंले उदारतकासाथ रगत दान गर्नु भएकोमा स्वास्थ्य मन्त्रालय तपाईंलाई पुरस्कृत गर्न पाउँदा खुशी छ’ लेखिएको छ ।

दुई दिनको समयमा अफ्रिकाका युवाहरुलाई रक्तदान गरी रहन जागरुक गराएँ । मेरो कृयाकलापलाई स्थानीय टेलिभिजन लगायतका सञ्चार माध्यायमले महत्व दिएका थिए ।