स्वास्थ्य

नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

फाइल तस्वीर

काठमाडौं । लकडाउनयता वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रयोजनमा विदेशमा रहेकै अवस्थामा ज्यान गुमाएका २४६ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस अवधिमा कुल ४९४ जनाको मृत्यु विदेशमा भएको थियो । त्यसमध्ये १ सय ७२ वटा शवको गन्तब्य मुलुकमै अन्त्येष्टी गर्न सहमति प्राप्त भएको थियो । अन्य शव भने नेपाल ल्याउनु पर्नेछ । परिवारको सहमति बीना शवको विदेशमै व्यवस्थापन गर्न मिल्दैन ।

पछिल्लो समय विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम जारी छ । सोही सिलसिलामा गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट नागरिकलाई उद्दार भइरहेको छ । शनिबारसम्म ४६ हजार ३१२ जना उद्धार पछि घर फर्किएका छन् ।

उनीहरुलाई ल्याउन प्रयोग भएका जहाजबाट क्रमशः शवहरुसमेत ल्याइएको छ ।  २४६ जनाको शव स्वदेश ल्याई परिवारलाई बुझाइएको छ। १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको हो । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अब ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको गैर आवासीय नेपाली संघले उल्लेख गरेको छ ।