फिचर

गौतमबुद्धको जन्मस्थलबारे वहस जरुरी छैनः नेपाल

काठमाडौं । नेपाल सरकारले भारतीय विदेश मन्त्री एस जयशंकरको भगवान गौतमबुद्ध बारेको विवादास्पद अभिव्यक्तिको खण्डन गरेको छ । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको हो । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार बुद्धलाई ‘महान भारतीय’ भनेका थिए । परराष्ट्र मन्त्रालयले आइतबार एक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

जसमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य नै भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको बताएका छन् । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको उनले स्पष्ट पारेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको स्मरण उनले गराएका छन् ।

‘सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै उहाँले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताउनुभएको थियो,’ पौडेलले भनेका छन् । नेपालबाटै विश्वका अन्य भागमा बुद्ध धर्मको फैलावट भएको उनको भनाई छ । यस तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने उनको भनाई रहेको छ । ‘सिंगो विश्व समुदाय यो विषयमा जानकार छ,’ पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भारतीय विदेश मन्त्रालयले सच्यायो अभिव्यक्ति
उता, भारतीय विदेश मन्त्रालयले समेत मन्त्री एस जयशंकरको अभिव्यक्ति सच्याएको छ । भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याउँदै भारतले बुद्ध नेपालमै जन्मिएको प्रष्ट पारेको छ ।

जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयको तर्क छ । ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ, मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ । विदेशमन्त्रीले बुद्ध भारतीय भएको बताएसँगै नेपालमा व्यापक विरोध भएको छ । सत्तारुढसँगै नेपाली कांग्रेसले समेत उक्त अभिव्यक्तिको विरोध गरेका छन् ।