समाचार

टाउको काटिएको अवस्थामा शव फेला परेका व्यक्तिको पहिचान, विभत्स हत्या भएको स्थान फेला

काठमाडौं । गोंगबुमा आइतबार बिहान विभत्स अवस्थामा टाउको र खुट्टा काटिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ । उनी दाङका कृष्णबहादुर बोहरा भएको प्रहरीले पुष्टी गरेको छ । यसअघि शवको पहिचान हुन नसकेपछि सोमबार दिउँसो प्रहरीले उनको तस्वीर सार्वजनिक गरेको थियो । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन सकेको थिएन ।

तर, तस्वीर सार्वजनिक भएलगत्तै बोहरा काम गर्ने कम्पनीका मानिसले उनको पहिचान गरेका थिए । उनी नयाँ बजार क्षेत्रमा एक गार्भेन्ट उद्योगमा काम गर्ने कर्मचारी रहेको बुझिएको छ । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली गोंगबु पुगेको थियो । प्रहरीले उनको हत्या भएको घरसमेत पत्ता लगाइसकेको छ । तर यस घटनामा कुनै व्यक्ति गिरफ्तारीमा परे नपरेको भने प्रहरीले खुलाएको छैन ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । घटनास्थलबाट करीव ५० मिटरको फरकमा रहेको एक घरमा उनको हत्या भएको खुलेको छ । प्रहरीले कुकुरको सहायतामा उनको टाउको र खुट्टा फेला पारेको थियो । राजधानीमै भएको एक विभत्स हत्याले शान्ती सुरक्षामाथि समेत प्रश्न उठाएको छ ।