समाचार

गोंगबु हत्याकाण्ड : हत्या भएको कोठामा बस्ने महिला चितवनबाट पक्राउ

हत्या भएको घर

काठमाडौं । आइतबार बिहान गोंगबुमा टाउको र खुट्टा काटेर भएको विभत्स हत्याको अनुसन्धानको निष्कर्षतर्फ प्रहरी पुगेको छ । स्रोतका अनुसार कृष्णबहादुर बोहोराको हत्या भएको घरको कोठामा बस्ने एक महिलालाई प्रहरीले चितवनबाट सोमबार पक्राउ गरेको छ । अब प्रहरी यो अनुसन्धानको निष्कर्षतर्फ उन्मुख भएको बताइएको छ ।

किनकी प्रहरीले हत्या भएको कोठाबाट कृष्णबहादुरको नागरिकता र एटीएम कार्डसमेत बरामद भएको छ । कोठाको बाथरुममा रगतसमेत फेला परेका कारण उनको हत्या सोही कोठामा भएको खुलेको हो । आइतबार सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । तर मृतकको पहिचान नभएपछि फोटो सार्वजनिक गरेको थियो । त्यसपछि उनी कृष्णबहादुर बोहोरा भएको खुलेको थियो ।

प्रहरीले अपराध भएको घरमा बस्दै आएकी कल्पना शाहीलाई चितवनमा पक्राउ गरेको हो । स्रोतका अनुसार चितवनको टाढीबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइदैछ । एक गेष्ट हाउसमा बस्दै आएका उनले गेष्ट हाउसका साहुलाई आफु दुई दिन नआउने भन्दै बिदा भएको प्रहरीले जनाएको छ । प्रहरीले औपचारिक रुपमा भने विस्तृत अध्ययनपछि सार्वजनिक गर्ने बताउँदै आएको छ ।