मनोरञ्जन

आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी

काठमाडौं । भारतको चर्चित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नेपालमा आयोजना गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को ८ असारको बैठकले अवार्ड नेपालमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा अवार्ड आयोजना हुने र काठमाडौं महानगरपालिका सहआयोजक रहने मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ ।

आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्न सरकारले स्वीकृति दिएसँगै एक तयारी समिति समेत गठन गरेको छ ।

उक्त समितिको बिहीबार बसेको बैठकले नेपाल पर्यटन बोर्डका सीइओ दीपक राज जोशी र नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यलाई आइफा अवार्ड आयोजकसँग वार्ता गरी बाँकि प्रक्रिया टुंग्याउने अधिकार प्रदान गरेको छ ।

बैठकले ५ दिनभित्र कार्यक्रमको विस्तृत कार्ययोजना निर्माण तथा लागत तय गर्ने भएको छ । त्यसपछि भारतीय पक्षसँग द्धिपक्षीय वार्ता हुने बताइएको छ ।

अवार्ड समारोहमा ८० देखि १०० जना बलिउडका चर्चित कलाकार सहभागी हुने अनुमान छ । उनीहरुका सहयोगी, प्राविधिक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको ठूलो समूहसमेत नेपाल आउनेछन् ।

२० औं संस्करणको आइफा अवार्ड नेपालमा आयोजना गर्न एक वर्षदेखि नै पहल भइरहेको छ ।

यस अवार्डमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी संघसंस्थाले समेत सहयोग गर्ने भएका छन् ।

आईफा अवार्ड भारतबाहेक विदेशमा आयोजना हुने भारतको मूख्य फिल्म अवार्ड हो । पहिलोपटक सन् २००० मा लण्डनमा आयोजना भएको यस अवार्डको १९ औं संस्करण थाइल्याण्डले आयोजना गरेको थियो ।

अहिलेसम्म बृलायत र थाइल्याण्डबाहेक दक्षिण अफ्रिका, मलेसिया, सिंगापुर, नेदरल्याण्ड्स, यूएई, मकाउ, श्रीलंका, क्यानडा, अमेरिका, र स्पेनले यो अवार्ड आयोजना गरिसकेका छन् ।

नेपालमा आयोजना भए सम्भवतः सबैभन्दा ठूलो अवार्ड कार्यक्रम हुनेछ ।