रोचक खवर

९ दिनपछि नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली पुनः संवादमा जुटे

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको संवाद बिहीबारबाट पुनः सूचारु भएको छ । पछिल्लो ९ दिनयता दुई नेताबीच भेट भएको थिएन् । तर, नेकपा भित्रको विवाद भने जहाँको त्यही छ । विहीबार भने यी दुई नेताबीच करिब चारघण्टा छलफल भएको छ । छलफल सकारात्मक रहेको नेताहरुको दावि छ ।

प्रधानमन्त्री निवासमा दुई अध्यक्षबीच एक्ला एक्लै गहन छलफल भएको र छलफल निष्कर्ष उन्मुख रहेको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई अध्यक्षसँगै बिष्णु पौडेल, शंकर पोखरेल तथा जनार्दन शर्मा समेत सहभागी थिए । त्यहीबीचमा सामुहिक र एक्लाएक्लै समेत छलफल भएको थियो । पार्टी भित्र प्रधानमन्त्रीको राजिनामा माग आएपछि प्रधानमन्त्रीले पार्टीका बैठक बहिष्कार गर्दै आएका छन् ।

असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा अबको ५ दिनमा नेकपा भित्रको विवाद टुंगिने दावि गरेका थिए । उक्त दावि गरेको भोलीपल्टै नेताहरुबीच छलफल शुरु भएको छ । यसलाई सकारात्मक रुपमा हेरिएको छ ।