समाचार

भारतीय नागरिकको नेपाली नागरिकता खारेज

काडमाडौं । सरकारले नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीपरिषद्ले ५ जना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको हो ।

असार ५ र ८ गतेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजना भएको कार्यक्रममा मन्त्री बास्कोटाले उक्त जानकारी दिएका हुन् ।

भारतीय नागरिक जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजय राउत, जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नागरिकता खारेज गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिए ।

उनका अनुसार जीवनकुमारले सप्तरीबाट, धर्मेन्द्र ठाकुर र अजय राउतले धनुषाबाट तथा यमुना र कृपालीले रौतहट जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए।

खुला सीमानाको कारण उठाउँदै तराई भेगमा भारतीय नागरिकको खुला आवगमन भइरहेको छ । उनीहरु नेपालमा सरकारी अधिकारीहरुलाई छक्याएर नेपाली नागरिकता लिन सफल भएका थिए ।

मन्त्रीपरिषद्ले नेपाली सेनाका ५ जना सेनानीलाई प्रमुख सेनानीमा बढुवा गर्ने निर्णय समेत गरेको छ।

बैठकले लेखा समिति सभापति भरतकुमार शाहसहित ७ सदस्यीय भ्रमण टोलीलाई ४ देशका कूटनीतिक निकायको भ्रमणमा जान सैद्धान्तिक सहमति दिएको जानकारी बास्कोटाले गराए ।