स्वास्थ्य

वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टी

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टी भएको छ । वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरुको बिहीबार ज्यान गएको थियो । दम, मधुमेह र उच्च रक्तचापबाट पिडित दुई जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । बाराको प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय र जितपुर सिमरा उपमहानगरपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

प्रसौनीका ६५ वर्षीय पुरुष प्रसौनी गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका स्थानीय नेता समेत भएको बताइएको छ । उनी दमको रोगबाट पिडित थिए । ज्वरो र श्वासप्रश्वासको समस्याका कारण बिहीबार नारायणी अस्पताल भर्ना भएका उनको ज्यान गएको हो । उता, जितपुर सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापको बिरामी भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि गण्डक कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उनमा समेत कोरोना पुष्टी भएको छ । यसअघि बिहीबार मात्र ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।