फिचर

बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च कार्यालयले गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरुको उपचारमा लाग्ने खर्च कार्यालय स्वयमले बेहोर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर न्यूनतम बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि एक परिपत्र जारी गरेको छ ।

जसअनुसार काठमाडौँ उपत्यकामा र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रयोग नगर्न निर्देशन दिइएको छ । सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा दिन समेत केन्द्रिय बैंकले निर्देशन दिएको छ । अत्यावश्यक बाहेकका सबै प्रकारका बैठक, समीक्षा, सेमिनार, भेला जस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्न समेत राष्ट्र बैंकले सचेत गराएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि एक कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न पनि निर्देशन दिइएको छ । आइसोलेसन तथा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएपछिमात्र कार्यालय आउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकको निर्देशन छ ।

इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराइ रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ ।

संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक ट्रेसिङ्‍मा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकले कर्मचारीलाई सकभर घरबाटै काम गर्ने व्यवस्था मिलाउन समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।