स्वास्थ्य

अन्ततः कोरोनाबाट नेपालमा मानवीय क्षति तीन अंकमा पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट १ सय जना मानिसको ज्यान गएको छ । साउनयता बढेको मृत्युदरका कारण शुरुवाती चरणको तुलनामा छिट्टै मृत्युदरले तेस्रो अंक छोएको हो । नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा पुष्टी भएको थियो । उनी चीनबाट आएका पुरुष थिए । दोस्रो संक्रमित १० चैतमा भेटिएको हो । त्यसपछि नेपालमा लकडाउन शुरु भएको थियो ।

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भने ३ जेठमा भएको हो । बाह्रबिसे, सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केसीको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको थियो । त्यसयताको तीन महिनामा मानवीय क्षति १ सय नाघेको हो । शुक्रबार धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको ज्यान गएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले तेस्रो अंक छोएको हो ।

श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको हो । शुक्रबार नै कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेमा साउनयताको आंकडा डरलाग्दो छ । साउन ६ गतेसम्म मृतकको संख्या ३९ थियो । त्यसपछि भने निरन्तर ज्यान गुमाउनेको संख्या बढ्यो । साउन १४ गते पुग्दा मृतकको संख्या ४९ पुगेको थियो । त्यसपछि भने पछिल्लो १६ दिनमा दोब्बर मानिसको ज्यान गयो ।