विश्व

उत्तर प्रदेशका क्याविनेट मन्त्रीको कोरोनाका कारण मृत्यु

काठमाडौं । पूर्व क्रिकेटर तथा भारतको उत्तर प्रदेशका क्याविनेट सदस्य चेतन चौहानको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । उनी ७२ वर्षका थिए । भारतीय संचारमाध्महरुका अनुसार उनमा १९ जुलाईमै कोरोना पुष्टी भएको थियो । चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री हुन् । उनको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा भइरहेको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटर र मेहनती राजनेता भएको बताएका छन् । मुख्यमन्त्री योगीले चौहान चर्चित खेलाडी र लोकप्रिय नेता भएको उल्लेख गरेका छन् । उनको भोली मंगलबार अन्त्येष्टि हुने भएको छ । भारतमा कोरोना भाइरसका कारण ५० हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।