रोचक खवर

के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

काठमाडौं । खाडी मुलुकमा संकटमा रहेका नेपाली नागरिकको उद्धारमा सरकारले गरिरहेको ढिलाई र खेलबाडप्रति नेपाली काग्रेसले कडा आलोचना गरेको छ । एक त सरकारले आफ्नो खर्चमा सकंटमा परेका नेपालीको उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेशको उल्लंघन गरेको र अर्कोतर्फ महंगो टिकट खर्च भिडाएर कामदारमाथि सरकारले अन्याय गरिरहेको कांग्रेसको आरोप छ ।

कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले शनिबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका छन्, खाडीका श्रमिक वर्ग शत्रु हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै महँगो टिकटसँगै सबै खर्च बोकाउनु मानवीयता नभएर सर्वहारामाथि अधिनायकवाद लादिएको उनको भनाई छ ।

 

उनले गत असार १ गते सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न सरकारका नाममा दिएको आदेशका समेत स्मरण गराएका छन् । सरकारले आजसम्म गरेको उद्धारमा कामदार आफैले टिकट काटेर आएका छन् ।

उक्त आदेश आएको दुई महिनापछि पुनः महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्‍न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको उनले उल्लेख गरेका छन् ।

यस्तो छ सरकारलाई कांग्रेसको प्रश्न र माग 

  • ६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्‍नु कति न्यायोचित छ ?
  • सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्‍ने आदेशको उल्लंघन र अदालतको मानहानि हो कि होइन प्रधानमन्त्रीज्यू ?
  • मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाइटको अनुमति दिएको छ। भदौ १६ बाट शुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्ध गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौंसम्म लाग्ने देखिन्छ। उद्धारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन ।
  • सरकारको पछिल्लो निर्णय अनुसार सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्वार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्वारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ, एक त चार्टर फ्लाइटको महँगो टिकट काट्नु पर्ने, दोस्रो होटेल क्वारेन्टाइनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, तेस्रो पिसिआर परिक्षण आफैँ गराउनुपर्ने अनि चौथो गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने। अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भर थेग गरिरहेका अन्न दातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को ब्यबहार ?
  • ‘रोजगारी गुमाएका, बेतलबी विदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट ब्यवस्था गरेर निःशुल्क उद्वार गर्न नेपाली कांग्रेस सरकार समक्ष पुरानो माग दोहोर्‍याउन चाहन्छ ।
  • उच्च मानवीय भावना साथ ‘संकटमा उद्वार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न नेपाली कांग्रेस सार्वजनिक रुपले नेपाल सरकारलाई अपील गर्दछ ।