फिचर

निजगढ विमानस्थल बनाउन रुख कटान आदेश देउ : समिति

काठमाडौं । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले वन तथा वातावरण मन्त्रालयलाई निजगढमा निर्माण हुने दोस्रो अन्तरराष्ट्रिय विमानस्थल आयोजनामा रुख कटान आदेश दिन निर्देशन जारी गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले मन्त्रालयलाई उक्त आयोजनामा काट्नु पर्ने रुखका लागि रुख कटान आदेश दिन निर्देशन दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाका अनुसार रुख कटान आदेश अहिले वन मन्त्रालयमा पुगेर अड्किएको छ ।

वन मन्त्रालयले रुख कटान आदेश मन्त्रीपरिषद्मा लगेर पास गराएपछि मात्र उक्त आयोजनामा काट्नु पर्ने रुख काट्ने अनुमति प्राप्त हुन्छ ।

त्यसपछि मात्र साइट क्लियरेन्सको काम शुरु हुन्छ । यस आयोजनामा साइट क्लियरेन्सको काम नेपाली सेनाले गर्ने गरी जिम्मेवारी पाइसकेको छ ।

निजगढ विमानस्थलका लागि पहिलो चरणमा करीव ७ लाख रुख काट्नु पर्ने र त्यसमध्ये ५ लाख हाराहारी पोथ्रा र कुकाठ रहेको प्राधिकरणको भनाई छ ।
समितिले पर्यटन मन्त्रालय र प्राधिकरणलाई यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर काम अगाडी बढाउन पनि निर्देशन दिएको छ ।

निर्माणको मोडालिटी नबनेका कारण सरकारले तत्काल मोडालिटी तय गरी स्रोतको जोहो थाल्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

यो आयोजना कुन मोडेलमा कसरी बनाउने भन्ने टुंगो लाग्न नसक्दा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल आयोजना अलपत्र अवस्थामा छ ।