फिचर

यस्तो छ भदौ १६ गतेदेखि हुने नियमित र चार्टर उडानको तालिका

काठमाडौं । सरकारले यही भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान गर्ने भएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित हवाई उडानको लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएको हो ।

मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृतगरेसँगै विमान कम्पनीहरुले अनुमति पाएका हुन् ।

नियमित उडानका लागि मन्त्रालयले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित कतार एयरवेज, कोरियन एयर, टर्किस्, फ्लाइ दुबई, मालिन्दो, चाईना साउर्थन, एयर अरेविया, मलेसियन एयरलाइन्स, एयर चाइना, क्याथवे ड्रागनको तालिका स्वीकृत गरेको हो ।

मन्त्रालयले नियमित उडान तालिका स्वीकृत गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स बाहेकका विदेशी विमान कम्पनीलाई भने चार्टर उडानको अनुमती दिएको छैन ।

चार्टर उडानको तालिका स्वीकृत हुने विदेशी विमान कम्पनीहरुमा जजिरा र सलाम एयर मात्रै छन् । हवाईजहाजबाट ल्याइने यात्रुको अनिवार्य पीसीआर परीक्षण र नेपाल फर्किएपछि सात दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पीसीआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुनेछ ।

पहिलो चरणमा अमेरिका, यूरोप, चीन, थाइल्याण्ड, हंगकंग, मलेसियासहितका देशबाट नेपाल आउने पाइने छ ।

यसरी आउन पाउने सूचिमा नेपाली नागरिक, विदेशी कुटनीतिक नियोगका कर्मचारी तथा पदाधिकारी र विकास साझेदार संघसंस्थाका प्रतिनिधिलाई मात्र अनुमति मिल्नेछ । विदेशी नागरिकले भने तत्काल नेपाल प्रवेशको अनुमति नपाउने भएका छन् ।

पिसिआर परीक्षण हुन सम्भव नभएका साउदी अरव, कुवेत, कतारलगायत मुलुकबाट आउने नागरिकलाई नेपाल ल्याउनै पर्ने भए चार्टर्ड जहाज जानेछन् । अब नेपाल आउने सबै अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

हवाई टिकट काट्दाकै समयमा होटेलको पैसासमेत असुल गरिनेछ । वायुसेवा कम्पनीले होटेललाई पैसा दिनेछन् । होटेलमा बस्दाको खर्च आफै तिर्नुपर्ने छ ।

अब जहाजले पीसीआर टेष्ट गरेका र नगरेका यात्रुलाई एउटै जहाजबाट ल्याउन पाउने छैनन् । ल्याएमा सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने भएको छ ।

सरकारले त्यसरी काठमाडौं आउँदा जहाज चढ्नु ७२ घण्टा अगाडिको कोभिड रिपोर्ट चाहिने व्यवस्था पनि गरिएको छ ।