स्वास्थ्य

कोरोनाबाट थप दुई जनाको मृत्यु, १७४ पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुर र बाँकेमा एक एक जनाको ज्यान गएको हो । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको गत राती मृत्यु भएको हो । उनी काठमाडौंका बासिन्दा भएको बताइएको छ । कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ । उनी ३२ साउनमा अस्पताल भर्ना भएका थिए ।

उता, बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको समेत कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनका दुवै फोक्सोमा निमोनियाको समस्या भएको अस्पतालले जनाएको छ । उनी ८ भदौमा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएको थिए । त्यसको भोलीपल्ट कोरोना पोजिटिभ देखिएको थियो । उनको समेत गत राती ज्यान गएको हो ।

यससँगै बाँकेमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रदेश ५ मा २४ पुगेको छ । देशभर भने कारोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७४ पुगेको छ । यसअघि मंगलबार मात्र कोरोनाबाट देशभर ९ जना मानिसको ज्यान गएको थियो । पछिल्लो समय नेपालमा कोरोनाबाट हुने मृत्युदर बढेको छ ।