स्वास्थ्य

चितवनमा ५ महिनाको शिशुमा कोरोना, थपिए ५२ संक्रमित

भरतपुर । बिहीबार चितवनमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी पुष्टी हुनेमध्ये एक जना पाँच महिनाको शिशु समेत छन् । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसका बिरामी थप भएका हुन् ।

बिहीबार चितवनका मात्र ४५ जनामा कोरोना देखिएको छ । ती अस्पतालमा अन्य जिल्लाका ७ जनामा समेत कोरोना देखिएसँगै कुल ५२ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुना परीक्षणबाट २६ जनामा संक्रमण देखिएको छ । यो संक्रमणको उच्च दर हो । बिहीबार पुष्टी भएकामध्ये १४ जना रत्ननगर नगरपालिकाका हुन् ।

माडी नगरपालिकाका ९ र भरतपुर महानगरपालिकामा दुई जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । एक जना तनहुँ, देवाघाट गाउँपालिकाका रहेका छन् । बिहीबार सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १८ जना संक्रमित भेटिए । उता, रत्ननगर नगरपालिकामा समेत १८ जना नै भेटिएका छन् ।

माडी नगरपालिकामा थप ९ जनामा संक्रमण पुष्टी भएको छ । तनहुँको देवघाट र भानुका २ जना, पूर्वी नवलपरासीको गैंडाकोटका १, मध्यविन्दुका २ जना गरी ३ जना, सर्लाहीको इश्वरपुरका १ र हरिपुरका १ गरी दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।