स्वास्थ्य

वीरगन्जमा कोरोनाबाट थप ३ जनाको मृत्यु

वीरगन्ज । वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै अब वीरगन्जमा मात्र ज्यान गुमाउने व्यक्तिको संख्या ४८ पुगेको छ । शनिबार वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिला, वीरगञ्ज–१२ का ४३ वर्षिय पुरुष र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुष गरी कुल तीन जनाको ज्यान गएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनी न्युन रक्तचापको समस्यामा थिइन् । उनलाई पखाला लागेर अस्पताल ल्याइएको थियो । मृत्यु भएका दुई पुरुषमध्ये एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

एचआईभी र हेपाटाइटिस बीबाट पिडित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा सारिएको थियो । उनको राति ११ः५५ मा ज्यान गएको अस्पतालले जनाएको छ । ३७ वर्षीय युवकको भने तराई अस्पतालमा उपचार पछि शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा सारिएको थियो ।

त्यहा ल्याएपछि पनि स्वास्थ्य अवस्था गम्भिर भएपछि तराई अस्पतालको एम्बुलेन्सा राखेर काठमाडौं ल्याउँदै गर्दा राति ११ः४१ मा मुग्लिङ मै ज्यान गएको हो । अब वीरगञ्जमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४८ जना पुगेको हो । यसमध्ये पर्सा जिल्लाका मात्र ३६ जना छन् ।