विश्व

पाकिस्तानले खोल्ने भयो स्कुल-कलेज

इस्लामावाद । दक्षिण एसियाली मुलुक पाकिस्तानले स्कुल र कलेज सुचारु गर्ने भएको छ । प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभर शैक्षिक संस्था खोल्न निर्देशन दिएका छन् । उनका अनुसार दक्षिण एसियाका छिमेकी मुलुकहरुको तुलनामा पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको भन्दै अब गतिविधिहरु संचालन गरिने बताएका छन् । सो को तयारीमा लाग्ने उनले निर्देशन दिएका हुन् ।

कोरोना नियन्त्रण सम्बन्धमा निर्माण गरिएको राष्ट्रिय समन्वय समितिको बैठकमा प्रधानमन्त्री खानले देशमा कोरोना नियन्त्रण उन्मुख रहेकाले शिक्षण संस्था खोल्न निर्देशन दिएको बताइएको छ । बैठकमा आन्तरिक उडान खोल्ने र पर्यटक आगमन खुलाउने विषयमा समेत छलफल भएको बीबीसीले लेखेको छ ।

पाकिस्तानका योजना मन्त्री असद उमरका अनुसार छिमेकी देशको तुलनामा पाकिस्तानमा कोरोना नियन्त्रणको अवस्था राम्रो रहेको र सरकारले गरिरहेका पहल प्रभावकारी भइरहेको निष्कर्षमा छलफल पुगेको छ ।