फिचर

कतारमा श्रमिकको न्यूनतम आम्दानी मासिक १८ सय रियाल

कतार । कतार सरकारले श्रमिकको न्यूनतम ज्याला १ हजार कतारी रियाल तोकेको छ । यो न्यूनतम ज्याला हो । यसमा खाना र बस्नका लागि अतिरिक्त क्रमशः ५ सय ३ सय रियालसमेत भुक्तानी गर्नुपर्नेछ । आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयबाट श्रमिकको न्यूनतम ज्याला तोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

अलजजिराका अनुसार यो नियम यसअघि करार सम्झौतामा उल्लेख हुने गरेको थियो । तर, कम्पनीहरुले भुक्तानी दिने गरेका थिएनन् । तर अब भने कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल अनिवार्य प्राप्त गर्नेछन् ।

कतार सरकारले अब श्रमिकले काम परिवर्तन गर्न चाहेमा समेत त्यसमा सहजिकरण गरिदिएको छ कामदारले चाहेमा रोजगारदाताको अनुमति नलिए पनि परिवर्तन गर्न सक्नेछ । श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्ने गरी सरकारले निर्णय गरेको छ ।

श्रमिकले आफूले काम गरेको अवधि अनुसार एक महिना वा दुई महिनाको पूर्व जानकारी भने गराउनु पर्नेछ । कतार सरकारले जारी गरेको न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिना भित्र कार्यान्वयनमा आइसक्ने बताइएको छ ।

कतार सरकारको पछिल्लो निर्णयलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले स्वागतयोग्य भनेको छ । यो निर्णयबाट नेपाली नागरिक समेत लाभान्वित हुनेछन् । किनकी यहाँ ठूलो संख्यामा नेपाली कामदार छन् ।