फिचर

वैदेशिक रोजगारी थप खुकुलो, माग आएमा नयाँ कामदार पनि जान पाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई थप खुकुलो पारेको छ । कोरोना महामारी र लकडाउन पछि बन्द भएको वैदेशिक रोजगारीलाई प्रारम्भमा भिसा सम्झौता बाँकि रहेका र घर बिदामा आएकालाई मात्र जान दिने निर्णय भएको थियो । अब भने रोजगारदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुलासमेत दिने निर्णय गरेको हो ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार विदेश जान चाहाने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको छ । माग र श्रम सम्झौताका आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले उल्लेख गरे । उनका अनुसार अब नेपाली कामदार लैजान बाटो खुला खुला राखेका मुलुकमा जान नयाँ श्रम स्वीकृति दिइनेछ ।

यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने बाटो खुला गरेको थियो । अब नयाँ शर्तसहित श्रम स्वीकृति पनि जारी गर्न लागिएको हो ।