मनोरञ्जन

आज इन्द्रजात्रा, काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा मनाइदैछ । यस दिनको उपलक्ष्यमा सरकारले उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरी यो पर्व मनाउने गरिएको छ । यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले धुमधामका साथ मनाउने गरेका छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा हुने गर्छ । लिंगो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने प्रचलन रहेको छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि ‘इन्द्रध्वज पतन’ गरिन्छ । हरेक वर्ष इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष बसन्तपुर दरबार जाने प्रचलन रहेको छ । यो वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण जात्रालाई विधिविधान अनुसार मात्र बनाइनेछ । सामुहिक भेला भएर मनाउन भने निषेध गरिएको छ ।