फिचर

अब हट्ला कोटेश्वरको जाम ?

काठमाडौं । काठमाडौं उपत्यकाका सबैभन्दा डरलाग्दो जाम हुने चोक हो कोटेश्वर । चारतर्फबाट अत्यन्तै ठूलो संख्यामा आउने सवारी साधनका कारण सामान्य अवस्थामा आधा घन्टासम्म जाममा पर्नु अनौठो होइन् ।

किनकी चोकमा अण्डर पास वा फ्लाइओभर नभएका कारण चोकमा एक पटकमा कम्तिमा दुई तर्फका सवारी साधनले पालो कुर्नुपर्छ । यो समस्या हटाउन सरकारले कोटेश्वरबाट जडीबुटी चोकसम्मको सडक बिस्तार थालेको छ ।

यो सडक अब आठ लेनको बन्ने छ । आगामी तीन महिनामा सक्ने गरी विमानस्थलले चर्चेको जग्गामा डोजर चलिसकेको छ । अहिले चार लेन रहेको यो सडकखण्डलाई आठ लेन बनाउन लागिएको सडक विभागले जानकारी दिएको छ ।

यसले कोटेश्वरदेखि जडीबुटी चोकसम्मको सडकमा हुने गाडीको अधिक जाम कम गर्न सहयोग पुग्ने अपेक्षा विभागको छ । यसका लागि १२ करोड रुपैयाँ लागत लाग्ने भएको छ । यहाँ अन्य संरचनाको योजना रहेपनि तत्कालिन समस्या समाधानका लागि सडक बिस्तार थालिएको विभागको भनाई छ ।