फिचर

अमेरिकी राष्ट्रपति चुनाव अब दुई महिनामा, बाइडेनको लोकप्रियता उच्च

प्रभात भट्टराई/न्यूयोर्क

अमेरिकी राष्ट्रपति निर्वाचन आउन ठिक दुई महिना बाँकी रहँदा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनको लोकप्रियता उकालो लागेको छ । अगष्ट अन्तिम साता सम्पन्न रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ‘कानूनी शासन’को चर्को वकालत गरेपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाताको भरोसा जित्न सकेका छैनन् ।

दुबै दलको सम्मेलन पश्चात सार्वजनिक भएका अधिकांश मत सर्भेक्षणमा बाइडेनले ट्रम्पसँग प्रष्ट अग्रता लिएका छन् । त्यसमा पनि बुधबार सम्पन्न राष्ट्रिय एवं राज्य स्तरका कैयन् उच्च कोटीका सर्भेक्षणमा बाइडेनले उत्साहजनक अग्रता हासिल गरेका छन् । डेमोक्रेटिक राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा सिएनएनको मत सर्भेक्षणमा बाइडेन ट्रम्पभन्दा चार प्रतिशत बिन्दुले मात्र अघि थिए । बुधबार सार्वजनिक सिएनएनको सर्भेक्षणमा बाइडेनले आठ प्रतिशत बिन्दुको अग्रता लिएका छन् । यो सर्भेक्षणमा बाइडेनलाई ५१ प्रतिशतले मतदिने बताएका हुन् ।

पछिल्लो समय सार्वजनिक भएका अधिकांश सर्भेक्षणमा बाइडेनलाई ५० प्रतिशत या त्यसको आसपास समर्थन मिलेको छ । जुन, राष्ट्रपतिय निर्वाचन जित्न काफि हुन्छ । बुधबारै सार्वजनिक कुन्निपियाक विश्वविद्यालयको सर्भेक्षणमा बाइडेनले ५२ प्रतिशत मतदाताको समर्थन पाउदैँ ट्रम्पसँग १० प्रतिशत बिन्दुको अग्रता हासिल गरेका छन् । यस्तै इकोनोमिष्ट, लस एन्जलस टाइम्स लगायतको सर्भेक्षणमा पनि बाइडेनलाई समर्थन गर्ने मतदाताको संख्या ५० प्रतिशत माथि छ र ट्रम्पसँग दोहोरो अंकको अग्रता लिएका छन् ।

त्यति मात्र होइन बुधबार सार्वजनिक भएका महत्वपुर्ण ‘स्विङ’ राज्यको सर्भेक्षण पनि बाइडेनले सानदार अग्रता लिएका छन् । सन् २०१६ मा ट्रम्पले जितेका विसकनसन, एरिजोना र नर्थ क्यारोलिनामा बाइडेनले प्रष्ट अग्रता लिएको सर्भेक्षण फक्स न्यूजले सार्वजनिसक गरेको छ । यी राज्य गुमाएमा ट्रम्पको दोस्रो कार्यकाल सपना पुरा हुन कठिन पर्छ । त्यसमा पनि लामो समय  ‘रेड स्टेट’को रुपमा रहेको एरिजोनामा बाइडेनले ४९ प्रतिशत मतदाताको समर्थन सहित ट्रम्पसँग नौ प्रतिशत बिन्दुको अग्रता लिएका छन् । विसकनसन र एरिजोनाका ५० प्रतिशत मतदाताले बाइडेनलाई मत दिने उल्लेख गरेका छन् । लामो समय डेमोक्रेटिक राज्यको रुपमा रहेको विसकनसनमा चार बर्ष अघ ट्रम्पले नाटकीय जित निकाल्दै ह्वाइट हाउस यात्रा सहज पारेका थिए । फक्स न्यूजको सर्भेक्षणमा बाइडेन ट्रम्पभन्दा आठ प्रतिशत बिन्दुले अगाडि छन् । फाइभथर्टीएट डट कमले पछिल्लो समयका सबै सर्भेक्षणहरुको औषत आँकडा निकाले अनुसार बाइडेन ५०.३ प्रतिशत समर्थन सहित ट्रम्पभन्दा ७.३ प्रतिशत बिन्दुले अघि छन् ।  २०१६ का अधिकांश सर्भेक्षणमा डेमोक्रेटिक प्रत्याशी हिलारी क्लिन्टन ट्रम्पभन्दा अघि रहे पनि उनले प्रायः कहिल्यै ५० प्रतिशत समर्थन पुर्याउन सकेकी थिइनन् । अनिर्णित रहेका १५ प्रतिशत हाराहारी मतदाताले अन्तिम समयमा ट्रम्पलाई रोज्दा उनी निर्वाचित हुन पुगेका थिए । यसपाली बाइडेनले लगातार ५० प्रतिशत माथिको समर्थन कायम राखेका छन् ।

दुबै दलको राष्ट्रिय सम्मेलन पछि बाइडेन प्रति सकारात्मक धारणा  (फेबरेविलिटी) राख्ने अमेरिकीको अमेरिकीको संख्या बढेको छ भने ट्रम्पको अवस्था उस्तै छ । रियल क्लियर पोलिटिक्सको औषत तथ्यांक अनुसार बाइडेनको फेबरेविलिटी धनात्मक छ भने ट्रम्प ठूलो अन्तरमा ऋणात्मक फेबरेविलिटीको अवस्थामा छन् । बाइडेनलाई मन पराउनेको औषत संख्या ४८ .३ प्रतिशत छ भने मन नपराउने ४६.६ प्रतिशत छन् । ट्रम्प प्रति सकारात्मक धारण राख्नेको औषत संख्या भने ४१.९ प्रतिशत मात्र छ । उनलाई मन नपराउने भने ५५. ६ प्रतिशत छन् । सिएनएनको सर्भेक्षण अनुसार दुबै दलको सम्मेलन पछि बाइडेनको फेवरेविलिटी चार प्रतिशत बिन्दुले बढेर ५२ प्रतिशत पुगेको छ भने ट्रम्पको एक प्रतिशतले बिन्दुले घट्दै ४२ प्रतिशतमा झरेको छ ।

फाइभथर्टीएट प्रक्षेपण अनुसार बाइडेनले राष्ट्रपति चुनाव जित्ने सम्भावना ६९ प्रतिशत छ भने ट्रम्पको ३० प्रतिशत मात्र । यस्तै इकोनोमिष्टले बाइडनेको सम्भावना ९० प्रतिशत हाराहारी देखाएको छ । कोरोना भाइरस संक्रमणलाई चित्तबुझ्दो गरि सम्बोधन गर्न नसकेको भन्दै बहुमत अमेरिकी ट्रम्पसँग असन्तुष्ट छन् । त्यससँगै रंगभेद बिरुद्ध अमेरिकाभर उठेका आन्दोलनलाई न्यायीक दृष्टिले हेर्नुको साटो एकोहोरो हिंसाको रटान लगाएका कारण ट्रम्पप्रतिको अमेरिकी भरोसा थप खस्किन पुगेको छ । सन् २०१६ मा ट्रम्पको पक्षमा उभिएका ६५ बर्ष माथिका मतदाताले यसपाली उनको साथ छोडेको सर्भेक्षणहरुले देखाएका छन् । साथै कामकाजी बर्ग र महिलाहरु पनि बाइडेनको पक्षमा उभिएका छन् ।

मतदाताको समर्थन बढेसँगै बाइडेन अगष्टमा रेकर्ड कायम गर्ने गरि चन्दा उठाउन पनि सफल भएका छन् । उनको क्याम्पेनले ३६४.५ मिलियन डलर चन्दा एक महिनाको अवधिमा उठाएको हो । एक महिना भित्र यति रकम कुनै पनि उम्मेद्वारको क्याम्पेनले अहिलेसम्म उठाउन सकेको थिएन । बाराक ओबामाले सन् २००८ को सेप्टेम्बरमा २०० मिलियन डलर संकलन गरि रेकर्ड बनाएका थिए । काला जातिबाट पहिलो महिला उपराष्ट्रपति उम्मेद्वारको रुपमा सिनेटर कमला ह्यारिसलाई चयन गरेसँगै बाइडेनलाई चन्दाको ओइरो लागेको हो ।