मनोरञ्जन

रथ तान्ने विषयमा सहमति, छोटो विधि अपनाइने

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर विहीबार दिनभर ललितपुर तनावग्रस्त रह्यो । मौलिक संस्कृति मनाउने सन्दर्भमा लामो समयदेखि रोक लागेपछि स्थानीय युवा आक्रोसित बनेका थिए । अब भने जात्रा छोटो विधिबाट सम्पन्न गर्ने विषयमा सहमति जुटेको छ ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार साँझ बसेको बैठकमा सहमति जुटेको हो । सहमतिअनुसार आज क्षमा पूजा गरिनेछ । आइतबार २१ गते सुरक्षा सावधानीसहित रथ तान्न शुरु गरिनेछ । यो बेला ठूलो भीड जम्मा हुन दिइने छैन ।

२२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने गरी सहमति जुटेको हो । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधि, ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि सहभागिता थिए ।

यता, शुक्रबार भने अप्रिय घटना रोक्न प्रशासनले ललितपुरमा कडाई गरेको छ । ललितपुरको चक्रपथभित्र कर्फ्यु जारी भएको छ । यो आदेश राती १० बजेसम्म कायम रहनेछ ।