मनोरञ्जन

अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा

ललितपुर । गत चैतमै सक्नु पर्ने मत्स्येन्द्रनाथको रथयात्रा कोरोना भाइरसको संक्रमणका बीच पर सर्दै आएको थियो । प्रशासनको अवरोध र स्थानीयको जसरी पनि रथयात्रा गर्नुपर्ने अडानका बीच बिहीबार यहाँ अप्रिय घटना पनि भयो । प्रहरी र स्थानीय युवा घाइते भए । यो सबै घटनापछि अन्ततः सहमति मै आइतबार रथयात्रा सम्पन्न भएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा छ । तर, प्रशासनले आज करीव साढे ४ सय मानिसलाई रथयात्राका लागि अनुमति दिएको थियो । यद्दपी ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर रथयात्रा चलाइएको हो । जहाँ स्थानीय युवालाई मात्र सहभागी गराइएको छ ।

रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका अनुसार गाःबहालमा रहेको मीननाथको रथलाई २० मिटर तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको हो । आज रथयात्रामा सहभागी सबैले मास्क लगाए । उनीहरुको पहिचानका लागि एकै प्रकारको टिशर्ट वितरण गरिएको थियो ।

प्रहरीले कडा सुरक्षा बन्दोबस्त मिलाएको थियो । कोरोना भाइरसको महामारीका कारण यो वर्ष छोटो विधि अपनाएर रथयात्रा गरिदैछ । सोमबार साइत हेरेर साइत प्राप्त भएको दिन रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने योजना छ ।

त्यसपछि भने रातो मच्छिन्द्रनाथको जात्रा सकिनेछ । सामान्य अवस्थामा भने रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने प्रचलन रहेको थियो । यो वर्ष भने विधि छोट्याइएको हो ।