फिचर

सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान

काठमाडौं । अमेरिका कोरोना भाइरसका कारण सर्वाधिक मानवीय क्षति भएको मुलुक हो । साथै यहाँ आगामी दिन समेत सहज नभएको पूर्वानुमान सार्वजनिक गरिएको छ । अमेरिकामा कोरोनाबाट हुने मानवीय क्षति सन् २०२० को अन्त्यसम्म ४ लाख १० पुग्ने पूर्वानुमान गरिएको छ । यो अहिले भइसकेको मृत्युको दोब्बर संख्या हो ।

युनिभर्सिटी अफ वासिङ्टन मातहतको स्वास्थ्य संस्थानबाट शुक्रबार यस्तो पूर्वानुमान सार्वजनिक गरिएको छ । यो समय प्रतिदिन औसतः ३ हजार मानिसले ज्यान गुमाउने सक्ने अनुमान समेत गरिएको छ । यो अमेरिकीहरुको लाइफस्टाइलसँग जोडेर गरिएको पूर्वानुमान हो ।

अमेरिकी संचारमाध्यमहरुका अनुसार विज्ञहरु जनतालाई मास्क अनिवार्य लगाउन भन्छन् । तर, जनता मान्दैनन् । मास्क मात्र लगाएर स्वयमः सचेत हुने हो भने यस्तो मानवीय क्षति ३० प्रतिशतसम्म कम हुने विज्ञहरुको सुझाव छ । उता, ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्स समेत आगामी दिनमा मानवीय क्षति अझै बढ्नेमा चिन्तित छ ।

इन्स्टियूट अफ हेल्थ मेट्रिकस एण्ड इभ्यालुएसन मोडलको प्रक्षेपणबाट मानवीय क्षति अहिलेको तुलनामा तेब्बरसम्म बढ्ने अनुमान गरिएको छ । अहिले औसतः प्रतिदिन ८ सय ५० जनाले अमेरिकामा ज्यान गुमाइरेका छन्।

पूर्वानुमान अनुसार डिसेम्बरमा मृत्यु संख्या प्रतिदिन ३ हजारको आंकडा नजिकै पुग्नेछ । यसमा बदलिदो मौसम र आममानिसले कोरोना भाइरसलाई हल्का रुपमा लिइरहको परिणामबाट यो अवस्था आउने तर्क समेत गरेको छ । यो संस्थाले अमेरिका मात्र नभई संसारभर नै आगामी केही महिनाभित्र तेब्बर संख्यामा मानिसको ज्यान जाने चेतावनी दिएको छ ।

किनकी कोरोनालाई लिएर सबैजसो मुलुकमा उस्तै प्रकारको प्रवृत्ति दोहोरिएको छ । आगामी जनवरीसम्म विश्वभर २८ लाख मानिसको ज्यान जान सक्ने अनुमान गरिएको छ । अहिले साढे ८ लाख क्षति भइसकेको छ ।