विश्व

कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो

काठमाडौं । संसारमा सर्वाधिक संख्यामा कोरोना भाइरसको संक्रमण हुने मुलुकमा भारत दोस्रो स्थानमा उक्लिएको छ । यसअघि तेस्रो स्थानमा रहेको भारत सोमबारबाट दोस्रो बनेको हो । सोमबार बिहान भारतले ब्राजिललाई उछिनेको हो । यो सूचिमा सबैभन्दा अगाडी अमेरिका छ ।

अमेरिका र भारतमा नयाँ संक्रमणको दर समेत उत्तिकै तिब्र गतिमा रहेको छ । वर्ल्डओमिटरले अध्यावधिक गर्ने तथ्यांकअनुसार अमेरिकामा संसारमै सबैभन्दा बढी ६४ लाख ६० हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

दोस्रो स्थानमा उक्लिएको भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । तेस्रो स्थानमा झरेको ब्राजिलमा ४१ लाख ३७ हजार ६ सय ६ जनामा कोरोना देखिएको तथ्यांक रहेको छ । कोरोना संक्रमित बढेको तुलनामा भारतमा मृत्युदर भने कम छ ।

वर्ल्डओमिटरका अनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट १ लाख २६ हजार ६ सय ८६ जनाको मृत्यु भइसकेको छ । भारतमा मात्र ७१ हजार ६ सय ८७ ले ज्यान गुमाएका छन् । यो सूचिमा पनि सबैभन्दा माथि अमेरिका छ । यहाँ १ लाख ९३ हजार २ सय ५० जनाको ज्यान गइसकेको छ ।