फिचर

निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तर्गत निर्माण प्रक्रियालाई गति दिने निर्णय गरेको छ । आयोजनाको पूर्वतयारीको चरणमा अहिले रुख गणनाको काम भइरहेको छ । यस्तो गणना आगामी मंसिरसम्म सकाउने निर्णय भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मंगलबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकबाट यस्तो निर्णय भएको हो । सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सम्पन्न भइसकेको समितिले जनाएको छ ।

बैठकमा आयोजनाको कार्यप्रगतिको समिक्षा गरिएको छ । मन्त्रालयका अनुसार बैठकले आगामी मंसिर मसान्तभित्र रुख तथा पोलको लगत नम्बरिङकोे काम सकाउने निर्णय गरेको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने गरी निर्णय गरेको छ ।

समिति सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई पनि थप गर्ने निर्णय भएको छ ।

बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेड मार्फ्त रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी काम आगामी सातामा समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्रमा परियोजना प्रस्ताब अन्तिम निर्णय लिने समेत निर्णय आजको बैठकले गरेको भट्टराईले जानकारी दिएका छन् ।

विमानस्थलको पेरिफेरी रोड निर्माणका लागि यसअघि नै गणना भएका ४२३२ रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले भेरिफिकेसनको काम सकाएर एक महिना भित्र मन्त्रिपरिषद्मा लैजाने निर्णय समेत भएको मन्त्रालयले उल्लेख गरेको छ ।