समाचार

तीन देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिबाट तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको छ । सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम बिहीबार संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो ।

अनुमोदन भएसँगै अब उनीहरु राष्ट्रपतिबाट नियुक्ति पाउन योग्य भएका छन् । आजको बैठकले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन नगरेकामा भने विशेष ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार सरकारले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन नगरेका भन्दै विशेष ध्यानाकर्षण गराएको जानकारी दिए ।

बिहीबार सुनुवाई समितिमा प्रस्तावित राजदूतमाथि परेका विभिन्न उजुरीबारे सवालजवाफ भएको थियो । उनीहरुमाथि कुल ५ वटा उजुरी परेको बताइएको छ । त्यसमध्ये एक बेल्जियमाका लागि सिफारिस भएका राजभण्डारीविरुद्ध थियो । अन्य भने किटानीविनाका थिए ।