फिचर

आन्तरिक उडान खोल्ने प्रस्ताव सीसीएमसीमा, मिति अझै अन्यौल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान सूचारु गर्ने तयारी थालेको छ । यसका लागि उडान संचालनको मिति १ असोज राखेर मन्त्रालयले कोभि १९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको हो । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार १ असोजमा सम्भव नभए १५ असोजबाट भने उडान सूचारु हुनेछन् । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै उडान खोल्न लागिएको उनले जानकारी दिए ।

नेपालमा ११ चैतयता सबै प्रकारका उडानमा प्रतिवन्ध लागेको थियो । १६ भदौबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडान खुलेका छन् । यो सम्भवतः दक्षिण एसियामै पहिलो भएको पर्यटनमन्त्रीको दावि छ । नेपालमा आन्तरिक उडानका लागि समेत प्रोटोकल तयार रहेका कारण पहिलो चरणमा कोभिडको संकट कम भएका जिल्लास्थित विमानस्थलबाट उडान थाल्ने तयारी मन्त्रालयले गरेको हो ।

उनका अनुसार पहिलो चरणमा हिमाली र पहाडी भेगका विमानस्थलमा जहाज उड्नेछन् । त्यसपछि मात्र तराई भेगमा उडान शुरु गरिनेछ । तर, उडान खुले पनि कोभिडको प्रभावलाई मध्यनजर राख्दै थप निर्णयहरु हुने उनले जानकारी दिए ।