फिचर

विदेशबाट नेपाल आउन अब माग अनुसार उडान थपिने

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने चाहने नेपाली नागरिकलाई लगाएको दैनिक संख्याको कोटा हटाएको छ । अब माग अनुसार एयरलाइन्सले उडान थप्न र थप नेपालीलाई घर ल्याउने पाउने भएका छन् । यस्तो प्रावधान भने नियमित दैनिक उडान खुलेको गन्तब्यका लागि मात्र हो ।

यसअघि सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी कोटा तोकेको थियो । तर, विदेशबाट नेपाल आउने नेपालीको संख्या अधिक भएसँगै सरकारले कोटा हटाउने निर्णय गरेको हो ।

नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार अब सरकारले खोलेको अन्तर्राष्ट्रिय व्यवसायिक (नियमित)उडानतर्फ एयरलाइन्सले अनुमति मागेमा थप उडानको अनुमति दिनेछ ।


भट्टराईका अनुसार उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शपछि यस्तो निर्णय भएको हो । उनले हालको पीसीआर र क्वारिन्टिनसम्बन्धी नियमलाई यथावत राखेर कोटा हटाइएको जानकारी दिए ।

त्यसबाहेक कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिइने भएको छ । यता, श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था हुने भएको छ ।