फिचर

गौतमबुद्ध विमानस्थलको भौतिक संरचना निर्माण पुरा, अब उपकरण जडान

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिकतर्फको निर्माणको काम सम्पन्न भएको छ । अब उपकरण जडानको काम बाँकि रहेको आयोजनाले जनाएको छ । आयोजनाको कुल प्रगति ९२.५ प्रतिशत पुगिसकेको छ । यो उपकरण जडानअन्तर्गतको काम हो ।

भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार बाँकी काम भने चिनियाँ दक्ष तथा प्राविधिक रइन्जिनियर आएपछि मात्र शुरु हुनेछ । उनीहरुले नेपालमा लागेको यात्रा प्रतिवन्धका कारण विदेशमै रोकिएका छन् । उपकरण विमानस्थल निर्माण क्षेत्रमा आईसकेका छन् । तर, त्यसको जडानमा चिनियाँ प्राविधिक आउनु पर्ने भएकाले मात्र उपकरण जडानको काम रोकिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख अधिकारीका अनुसार ३५ जना दक्ष कामदार तथा इन्जिनियर नेपाल आउनु पर्नेछ । उनीहरुलाई नेपाल ल्याउन पहल थालिएको छ । यो अवधिमा विमानस्थलको ३ हजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे तथा एप्रोनको सिभिलतर्फको काम सम्पन्न भएको छ । यी संरचनामा विद्यूतीकरणको काम जारी छ ।

अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माणको काम पनि पुरा भएको छ । यी संरचनामा अहिले इन्टेरियर, उपकरण जडान र फिनिसिङका काम भइरहेको अपडेट रहेको छ । आयोजनाको वित्तीय प्रगति भने ६३ प्रतिशत पुगेको बताइएको छ । यो नेपालको त्रिभुवन विमानस्थल पछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ ।