स्वास्थ्य

ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगका उत्पादनमा हानिकारक रसायन

काठमाडौं । नेपालमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगले स्वास्थ्यमा गम्भीर असर गर्ने रसायन मिसाएको फेला परेको छ । यस्तो उद्योगबाट उत्पादन भएका उत्पादन प्रयोगमा समेत सरकारले रोक लगाएको छ । औषधि व्यवस्था विभागले आज उद्योगको सूचि सार्वजनिक गर्दै यस्तो आह्वान गरेको हो ।

यस्ता ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ । विभागका अनुसार यी उद्योगले आफ्ना उत्पादनमा मेथानोल मिसावट गरेका छन् । ती स्यानिटाइजर बिक्रीमा रोक लगाइएको छ । काठमाडौंका चार र भक्तपुरको एक उद्योगले उत्पादन गरेका ह्यान्ड स्यानिटाइजर हानिकारक पाइएको छ ।

भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंको हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको विभागले जानकारी गराएको छ ।