समाचार

भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि आत्महत्या ?

घटना घटेको घर

भक्तपुर । शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरास्थित घरमा एउटै परिवारका तीन जनाको शव फेला पर्यो । शव सड्न लागेको अवस्थामा फेला परेका कारण केही दिन अगाडी नै उनीहरुको ज्यान गएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले शुक्रबार साँझबाटै अनुसन्धान तिब्र बनाएको थियो ।

यो घटनामा बाहिरी मानिसको संलग्नता भन्दा बढी पारिवारिक किचलो, मानसिक तनाव र त्यसले उत्पन्न आपराधिक सोँच मूख्य कारण रहेको निष्कर्षतर्फ प्रहरी अनुसन्धान अगाडी बढेको छ । यद्दपी प्रहरीले यसबारे औपचारिक जानकारी भने गराइसकेको छैन । यहाँ घरधनी सुदीप अधिकारी, श्रीमती सम्झना, छोरा सुशान्तको मृत शरीर फेला परेको हो ।

घरमा पालिएको कुकुरसमेत मरेको छ । प्रहरीका अनुसार श्रीमती र छोराको टाउकोमा गहिरो चोट देखिएको छ । उनीहरुको शवमाथि कपडा ओडाइएको थियो । श्रीमती र छोरोको शव गन्हाउन थालेको थियो भने श्रीमानको शव ताजै रहेको प्रहरीको भनाई छ । उनको शव भान्सामा भेटिएको हो । भान्सामा उनले वान्ता गरेको पाइएको छ ।

खाद्य पदार्थमा कुनै विषालु वस्तु मिसाएर आफुले त्यही खाई आत्महत्या गरेको अनुमान पहरीले गरेको छ । प्रहरीका अनुसार उनीहरुको घरको तल एउटा किराना पसल रहेको छ । प्रहरीले काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटबाट फरेन्सिक टोली बोलाएर अनुसन्धान थालेको छ ।

घरमा ढोका खुलै रहेको अवस्थामा शुक्रबार दिउँसो मृतकका भाई घर पुग्दा परिवारका सदस्यलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानका अनुसार सुदीप आर्थिक तनावमा रहेको देखिएको छ । घर बैंकले लिलामीमा राखेको र आफु बेरोजगार समेत भएका कारण उनी तनावमा रहेको बुझिएको छ । हालै उनले ससुरालीबाट २ लाख ऋण समेत लिएको बुझिएको छ ।