फिचर

सकियो कुलमानको कार्यकाल, थप हुने-नहुने अन्यौल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेका छन् । उनलाई तत्कालिन प्रधानमन्त्री प्रचण्डको सरकारले २०७३ भदौ २९ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सम्भवतः सार्वजनिक संस्थानमा नियुक्त भएपछि सबैभन्दा बढी वाहवाही पाएका कुलमानको पक्षमा ठूलो जनमत पुनः नियुक्ति गर्नुपर्ने रहेको छ ।

किनकी कुलमानले आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङ मुक्त बनाउन सफल भएका छन् । कुलमानको ४ वर्षे कार्यकाल सकिए पनि अब प्राधिकरणलाई कसले हाँक्ने छ भन्नेमा सरकार अझै टुंगोमा पुगिसकेको छैन । कुलमान २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरण प्रवेश गरेका थिए ।

उनलाई तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका हुन् । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएकाले भोलीको बैठकबाट टुंगो लाग्ने अनुमान छ । नेपालमा १८ घण्टासम्म रहेको लोडसेडिङ हटाएका कुलमान यो चार वर्ष सबैभन्दा चर्चामा रहे ।

उनलाई आमसंचार माध्यमदेखि आम मानिसले पनि उत्तिकै माया गरेका छन् । प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङको पुनः नियुक्तिमा सरकारले कदम के हुन्छ, त्यो भने हेर्न बाँकि छ ।