फिचर

विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसकदीय समितिले विदेशमा समस्यामा रहेका सबै नेपालीको उद्धार एक महिना भित्र गरिसक्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको हो ।

समितिको बैठक आइतबार सिंहदरबारमा बसेको हो । बैठकले वैदेशिक रोजगारीका लागि गई अलपत्र नेपालीलाई उद्धार गरी नेपाल ल्याउन सरकारलाई निर्देशन दिएको हो । यसको कार्यान्वयन गर्ने निकाय भने श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय हुन् ।

समिति सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशमा अलपत्र नेपालीहरुलाई ल्याउने सम्बन्धमा प्रभावकारी कार्यसम्पादन हुन नसकेको समेत उल्लेख गरे ।

वैदेशिक रोजगारीको रुपमा साउदी अरब, कतार, कुवेत, मलेसिया आदि देशमा गएका र कोभिड १९ को कारणबाट लामो समयसम्म रोजगार बिहिन भई अलपत्र अवस्थामा रहेका श्रमिकहरुलाई नेपाल ल्याउने सम्बन्धमा सम्बन्धित सरकारी निकायहरुबाट प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा समितिको गम्भिर ध्यानाकर्षण भएको उनको भनाई छ ।

समितिले कोभिड १९का कारण रोजगारी गुमाएका नागरिकहरु भोकभोकै रहने अवस्था आइसकेकाले त्यसको तत्काल समस्या समाधान गर्न स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्य सम्पादन गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

विदेशबाट आफैँ आउन नसक्ने गरी अलपत्र परेका श्रमिकहरुको यथार्थ सूचना संकलन गरी त्यस्ता व्यक्तिहरुलाई राज्यले खर्च व्यहोरेर ल्याउने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको हो ।