फिचर

काठमाडौं उपत्यकाको निषेधाज्ञामा परिवर्तन, जोरबिजोर कायम

काठमाडौं । काठमाडौं उपत्यकाका जारी भएको निषेधाज्ञामा परिमार्जन गरिएको छ । स्थानीय प्रशासनले ३ भदौबाट निषेधाज्ञा थालेको थियो । यस्तो आदेश पुनः २४ भदौबाट ७ दिनका लागि हुने गरी तोकिएको थियो । एक साताअघि भने खुकुलो पारेको थियो । बुधबार रातिबाट यो समय समेत सकिदैछ ।

सोही सन्दर्भमा बुधबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ। बैठकले निषेधाज्ञा खुलाएको छ । तर, जोर बिजोर प्रणाली भने लागु नै रहने भएको छ । उपत्यकामा अत्यावश्यक र कार्यालय प्रयोजनबाहेक सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर यथावत रहने भएको छ ।

सरकारले लामो दूरीको यातायात खुला गरेका कारण अब उपत्यकाका सबै नाका खुला भए । नाकाबाट आवतजावत गर्दा हुने स्वास्थ्य जोखिमबारे अब सर्वसाधारण आफै सचेत हुनुपर्ने निर्णय स्थानीय प्रशासनले गरेका छन् ।

सार्वजनिक र निजी सवारीसाधन पूर्ववत् चल्न पाउनेछन् । सबै सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । मापदण्ड पालना भए नभएको प्रशासनले अनुगमन गर्ने गरी तोकिएको छ । बिहीबारदेखि सबै खालका पसल भने खुला हुनेछन् । यसअघि तोकिएको समय समेत हटेको छ ।

होटल खोल्न लगाइएको बन्देज समेत अब हटेको छ । कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय हटेको छ। सपिङ मल पूर्ण रुपमा खुल्ने भएका छन्। टेक अवे सेवा र अनलाइन डेलिभरी सेवामा कुनै समय नलाग्ने गरी नियम आएको छ ।

बैंक तथा वित्तीय संस्थाको सेवा समेत सूचारु हुने भएको छ । शिक्षालय भने तत्काल खुल्ने छैनन् । फुटपाथ, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल तथा डिपार्टमेन्ट स्टोर खुल्ने गरी निर्णय भएको छ ।

बढी भिड हुने डान्स सेन्टर, बार, फिल्म हल भने खोल्न नपाइने गरी निर्णय भएको छ । मठ, मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेक काम गर्न नपाइने गरी तोकिएको छ । गोष्ठी, सेमिनार, स्पा, ब्युटी पार्लर, सैलुन खोल्न समेत रोकतोक कायम रहनेछ ।