समाचार

फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पेरिस डाँडामा बस्यो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाएको छ । नेकपा सचिवालय स्रोतका अनुसार आज पार्टीमा विभिन्न विकल्पबारे छलफल भएका थिए ।

त्यसमध्ये प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफ्नो प्रस्ताव सुनाएका थिए । सचिवालय स्रोतका अनुसार पुरै मन्त्रिहरुको सेट परिवर्तनदेखि केही मन्त्रीलाई मात्र परिवर्तन गर्ने सम्मका विकल्पमा आज छलफल भएको छ ।

सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन पहिलो एजेन्डा बनेको नेताहरुले जनाएका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भदौ २५ मा बसेको स्थायी कमिटीको निर्णयानुसार संघीय सरकारको मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको जानकारी दिए ।

उनले भने, आज बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरबारे छलफल सुरु गरेको छ, तर कसलाई लैजाने, कसलाई हटाउने भन्‍ने बिषयमा छलफल भएन ।’

उनका अनुसार मन्त्रिपरिषद् हेरफेरसहित चारवटा एजेण्डा छलफलका तयार गरिएको उनको भनाई छ । आइतबारको बैठकमा एजेन्डा तय भएको र सोमबार थप छलफल हुने उनले जानकारी दिए । सोमबार १ बजे पेरिस डाँडामै बैठक बस्दैछ ।